विराटनगर / मोरङको जहदा गाउँपालिका–२ हरिनगरा टोलस्थित एउटा बिहे घरमा शुक्रबार बिहान कुटाकुट भएको छ । विजय राजभरको छोरीको बिहे चलिरहेका बेला जन्ती पक्ष र घरगाउँले बीच विवाद हुँदा बिहान २.३० बजेतिर घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले बताए । 

उनका अनुसार घटनामा परी एक बालकसहित दुईजना घाइते भएका छन् । घाइते हुनेमा जहदा–२ का ३५ वर्षीय भविष गिरी र १५ वर्षीय अवदेश राजभर रहेका छन् । घाइते दुवैजना घरगाउँले हुन् । जन्ती आएका युवाको आक्रमणबाट उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

 घाइतेमध्ये भविषलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको डीएसपी बस्नेतको भनाइ छ । उनको ढाडमा गहिरो चोट छ । अवदेश सामान्य उपचारपछि घर फर्किएका छन् । दुवैजनामाथि हतियार प्रहार भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

घटनाको प्रकृति र घाइतेको चोटको अवस्था हेर्दा हतियार प्रहार गरेजस्तो देखिने बस्नेतले बताए । घटनामा संलग्न जहदा–५ का २१ वर्षीय कृष्ण सिंहलाई इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर सन्दीप बेलबासे नेतृत्वको टोलीले नियन्त्रणमा लिएको छ ।

सिंह जहदा–५ बाट बिहे घरमा जन्ती गएका थिए । बिहेमा नाच्ने विषयलाई लिएर विवाद हुँदा कुटाकुट भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनामा हतियार प्रहार भएको हो कि हैन भनेर यकिन गर्ने काम भइरहेको छ । घटनाको अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतले बताए ।