खोटाङ । खोटाङका दाहाल समयुदायले चन्दा संकलन गरेर प्रतिष्ठानको कार्यालय भवन निर्माण गरेका छन् । देश तथा विदेशमा रहेका दाहाल समुदायका दाताबाट संकलन गरिएको रु २४ लाख चार सय ४२ खर्चमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित गैरीगाउँमा प्रतिष्ठानको पक्की कार्यालय भवन निर्माण गरिएको हो ।

सोल्माका स्थानीय रामबहादुर दाहालले निःशुल्क उपलब्ध गराएका छन् आना जग्गामा दाहाल प्रतिष्ठानको कार्यालय भवन निर्माण गरिएको दाहाल प्रतिष्ठान खोटाङका अध्यक्ष मीनकुमार दाहालले बताए । प्रतिष्ठानको कार्यालय भवन विसं २०७७ फागुन २३ गते शिलान्यास गरिएको थियो । 

कार्यालय भवन निर्माणका लागि जिल्ला तथा जिल्लाबाहिर विभिन्न स्थानमा बसोबास गर्दै आएका दुई सय ७१ दाहाल बन्धुबाट रु २६ लाख ४८ हजार नौ सय ७२ रकम संकलन भएको जनाइएको छ । भवन निर्माणका लागि रु सयदेखि रु एक लाख ११ हजार एक सय ११ सम्म सहयोग प्राप्त भएको प्रतिष्ठानले जनाएको छ ।

दाहाल प्रतिष्ठान शाखा खोटाङको पहलमा निर्माण गरिएको भवन प्रतिष्ठानका केन्द्रीय सदस्य सीताराम दाहालले शनिबार औपचारिक रुपमा उद्घाटन गरे । कार्यालय भवन उद्घाटनका क्रममा भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने दातालाई सम्मानसमेत गरेको छ ।प्रतिष्ठानको तीनतले भवन निर्माणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट नक्सा पास भइसकेको समितिका सचिव लीलाबहादुर दाहालले बताए ।

 प्रतिष्ठानले संकलित रकमबाट सभाहल, पदाधिकारी कक्ष र अतिथि गृह रहनेगरी कार्यालय भवन निर्माणको काम सुरु गरेको हो । भवन निर्माण गरेर बाँकी रहेको रु दुई लाख ४८ हजार पाँच सय ३० रकम कार्यालय व्यवस्थापनमा खर्च गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको कार्यालय भवनसम्म आवातजावतका लागि वडा कार्यालयको आर्थिक सहयोगमा कच्ची सडक समेत निर्माण गरिएको छ ।