इटहरी/ सुनसरीको इटहरीमा अत्याधुनिक सुविधा सम्पन्न भेटेरिनरी अस्पताल बन्ने भएको छ। पशुपन्छीको उपचारका लागि इटहरीमा भेटेरिनरी अस्पतालको भवन शिलान्यास गरिएको हो।

बुधबार एक कार्यक्रमका बीच इटहरीका मेयर हेमकर्ण पौडेलले अत्याधुनिक भवनको शिलान्यास गर्नुभएको हो। किसानका घरपालुवा जनावर बिरामी भएपछि उच्चस्तरिय उपचारका लागि अस्पताल निर्माण गरिएको हो। किसानका घरपालुवा जनावरको उपचारका लागि आधुनिक अस्पताल सञ्चालनमा ल्याइएको मेयर पौडेलले बताउनुभयो। भवन निर्माण पश्चात आफ्नै पालिकामा अस्पताल सञ्चालनमा आएपछि किसानका समस्या सहज ढंगबाट सम्बोधन हुने मेयर पौडेलले बताउनुभयो।

२ करोड ६ लाख ८२ हजार १ सय ६५ रुपैयाँ लागतमा तीन तले अस्पतालको भवन निर्माण गरिने भएको हो। सम्झौता अनुसार २०८० साल चैत्र भित्र भवन निमार्ण गरि सक्नु पर्नेछ । भवनमा कृषकहरुको लागि तालिम हल समेत बन्ने छ। कृषकहरुले छलफल तथा कार्यक्रमहरु राख्न सक्नेछन्।

इटहरीका पशु डाक्टर दुर्गा बहादुर श्रेष्ठले अस्पतालमा एक्सरे, अल्ट्रासाउण्ड मेसिनबाट बिरामी पशुको चेकजाँच गरिने छ। डाक्टर श्रेष्ठले भन्नुभयो भवन बनिसकेपछि अस्पताललाई ब्यवस्थित बनाएर सञ्चालन गर्नेछौँ। अव किसानलाई गुणस्तरीय सेवा दिने भन्दै उहाँले भने, ‘पशुपालक किसानलाई अव सुविधा हुन्छ, किसानको पशु रोगकै कारण रोग पत्ता नलागेर मर्नुपर्ने बाध्यता हटछ।’