संखुवासभा । संखुवासभाको भोटखोला गाविसमा पर्ने अरुण उपत्यकाको एक भागमा १३२ मेगावाटको जलविद्युत आयोजना निर्माण हुने भएको छ । सम्भाव्यता अध्ययनपछि तल्लो वरुण जलविद्युत आयोजना निर्माण थाल्न एम्पिक इनर्जी प्रालिले स्वीकृति मागेको विद्युत विकास विभागले जनाएको छ ।

मकालु वरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र वरुण खोलाको पानी उपयोग गर्दै ‘रन अफ दी रिभर’ (बहावमा आधारित) आयोजना निर्माण प्रस्ताव गरिएको हो ।

५ वर्षमा निर्माण पुरा हुने भनिएको आयोजनाको अनुमानित लागत २० अर्ब १२ करोड ८७ लाख रुपैयाँ छ । विभागका अनुसार आयोजनाबाट वार्षिक सरदर ४९४.४८२ गिगावाट घन्टा विद्युत उत्पादन हुने सम्भाव्यता अध्ययन छ । बाँधस्थलबाट प्रत्येक महिना नदिको बहाव ५० प्रतिशत छाड्न प्रस्ताव गरिएको छ ।

१८.४४ घनमिटर प्रति सेकेन्ड डिजाइन डिस्चार्ज रहेको आयोजनाका लागि खोलाको पानी फर्काउन २० मिटर चौडाइ र ५ मिटर उचाइको बाँध निर्माण गर्ने प्रस्ताव छ । आयोजनाको विद्युतगृहमा ६ वटा भर्टिकल टर्बाइन रहनेछ । विद्युत उत्पादनपछि पानीलाई ५०५.७५ मिटर लम्बाइ र ४.६ मिटर व्यास भएको टेलरेस टनेलमार्फत पुनः वरुण खोलामा खसालिने छ । उत्पादित बिजुली १.७३ किलोमिटर लम्बाइको २२० केभी प्रसारणलाइनमार्फत माथिल्लो अरुण जलविद्युत आयोजनाको स्वीचयार्डमा जोडिनेछ ।

आयोजना अरुण उपत्यकामध्येको एउटा भाग मकालु वरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ । यो आयोजना निर्माण गर्दा प्रतिकूल प्रभाव पर्ने भए ३५ दिनभित्र प्रतिक्रिया पठाउन विभागले शनिवार सूचना जारी गरेको हो ।