इटहरी । झापाको बाह्रदशी गाउँपालिका १ स्थित बागमतामा जङ्गली हात्ती मृत फेला परेको छ ।आज भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।


नगेन्द्र राईको बारीको सुठुनी खाएर सोही स्थानको तोरीबारीमा हात्ती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । हात्तीको शरीरमा बाहिरी चोट पटक देखिएको छैन । घटनास्थलमा डिभिजन वन कार्यालय झापाका कर्मचारीले अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरेका छन् ।सखरखण्डमा क्षति पुर्‍याएका कारण स्थानीयले थालेको विद्युतीय पासोमा हात्ती परेको अनुमान प्रहरीको छ । झापामा यसअघि पनि अर्को हात्ती मृत भेटिएको थियो ।


हात्तीको आक्रमणबाट गत मंसिर १५ मा हल्दिबारी ३ का वन हेरालु ४० वर्षीय धनवहादुर वनको मृत्यु भएको थियो । उनको मृत्युसँगै झापामा हात्ती आक्रमणवाट यो वर्ष ६ जनाको ज्यान गइसकेको छ ।डिभिजन वन कार्यालय झापाका वन अधिकृत ऋषि पराजुलीका अनुसार भारतबाट नेपाल प्रवेश गरेका हात्तीको समूह अहिले झापामा घुमिरहेको छ ।