धनकुटा / कोशी प्रदेश सरकार मन्त्रिपरिषदको बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय धनकुटामा बसेको छ ।

धनकुटामा रहेको मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले स्वदेशी उत्पादन तथा उपभोगलाई प्रोत्साहन गर्नेसहितका तीन निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले जानकारी दिए ।

बैठकले स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गरी प्रदेशको अर्थतन्त्रलाई मजबुत बनाउन प्रदेशका सबै सार्वजनिक निकायले स्वदेशी तथा विदेशी पाहुनाहरुलाई कोसेलीको रुपमा केही वस्तुहरु दिनुपर्दा, कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरुलाई मायाँको चिनो प्रदान गर्दा र कर्मचारीको स्वागत तथा विदाई गर्दा प्रदान गरिने उपहार प्रदेशभित्रै उत्पादन भएको वस्तु हुनुपर्ने निर्णय गरेको छ । त्यसको व्यवस्था मिलाउनका लागि सबै सार्वजनिक निकायहरुलाई निर्देशन दिने मन्त्रिपरिषद्को निर्णय छ ।

यस्तै बैठकले त्रिवेणीमा रहेको खुवालुङलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको रुपमा विकास गर्ने निर्णय गरेको छ भने मन्त्रिपरिषदको बैठक महिनाको एकपटक धनकुरामा बस्ने निर्णयसमेत गरिएको छ । प्रदेश राजधानीको माग गर्दै आन्दोलित भएको धनकुटामा मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय स्थापना भएपनि त्यसमा कुनै बैठक अहिलेसम्म बसेको थिएन ।

मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालयमै मंगलबार नै प्रदेश लगानी प्राधिकरणको बोर्ड बैठक पनि बसेको छ । बैठकले आगामी जेठ ६,७ र ८ गते विश्व चिया सम्मेलन गर्ने निर्णय गर्दै त्यसको लागि निर्देशक समिति गठन गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालाका अनुसार बैठकले धनकुटाको भेडेटारमा निर्माण भएको स्काई वाकको राजश्व बाँडफाँडको लागि प्रदेश सरकार, धरान उपमहानगरपालिका र साँघुरीगढी गाउँपालिकाको प्रतिनिधि रहेको समितिसमेत गठन गरेको छ ।