काठमाडौं / नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडुले सहकारी ठगी प्रकरणको निश्पक्ष छानविनका लागि अहिलेलाई गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएर सहयोग गर्नु उपयुक्त हुने बताएका छन् । 

बुधबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै बडूले सिस्टमलाई बचाउन र छानविनको निश्पक्षतालाई सुनिश्चित गर्न गृहमन्त्रीले राजीनामा दिन उपयुक्त हुने बताएका हुन् ।

‘छानविनको निश्पक्षता र विश्वसनियताका लागि उहाँले जिम्मेवारीबाट बाहिरिँदा हुन्थ्यो भन्ने हाम्रो अपेक्षा हो । त्यो भइदियो भने छानविन निश्पक्ष हुन्छ, कानुनभन्दा माथि कोही पनि हुँदैन भन्ने हाम्रो धारणा हो । यो सिस्टमलाई बचाउनका निमित्त यो अवसर पनि हो,’– उनले भने ।

साथै, उनले पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा एक करोड लिने मानिसको नाममात्रै मिलेको हो कि तपाईँ नै हो ? भनी उनले गृहमन्त्रीलाई प्रश्न गरे ।

‘सहकारीबाट एक करोड रुपैयाँ लिने रवि लामिछाने नाम गरेका व्यक्ति को हुन् ? अहिलेका गृहमन्त्री पनि रवि लामिछाने नै हुनुहुन्छ। नाम मात्रै मिलेको हो कि ?’ नेता बडुले प्रश्न गरे ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईको बारेमा पनि सांसद बडुले प्रश्न उठाए । उनले इन्टरपोलले रेड नोटिस जारी गरेको विषयमा के काम भइरहेको छ भनेर प्रश्न गरे ।