भोजपुर / भोजपुरको अरुण गाउँपालिकाले चैत्र १४ र १५ गते सञ्चालन गरेको ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रमबाट ८४ जना ज्येष्ठ नागरिकले सेवा लिनु भएको छ ।

अरुण गाउँपालिकाको ५० प्रतिशत आर्थिक सहयोग र पुर्वाअञ्चल डेन्टल अस्पतालको ५० प्रतिशत आर्थिक तथा प्राविधिक सहयोगमा निःशुल्क ज्येष्ठ नागरिक दन्त उपचार कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रम अन्तरगत पालिका भरीका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क दाँत लगाइदिएको र बाकी अन्य ज्येष्ठ नागरिकलाई आगामी वर्षमा सोहि प्रकृतिको कार्यक्रम सञ्चालन गरी दाँत लगाइदिने गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले बताउनुभयो । उहाँका अनुसार, ‘प्रथम चरणमा पालिकाले १ देखी ७ वडा सम्मका प्रत्येक वडाका १० जना भन्दा बढी ८४ जना ज्येष्ठ नागरिकहरूलाई प्रथम चरणमा दाँत लगाइएको छ । 

साझेदार अस्पतालसँग मजबुत तथा १० वर्षको वारेन्टी सहितको सम्झौता गरी दाँत लगाइएको हो ।’ वृद्धावृद्ध, अपाङ्ग, असहाय तथा आर्थिक अवस्था निम्न भएका नागरिकहरूको मुहारमा खुसी ल्याउन पालिकाले दन्त उपहार कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाकी उपाध्यक्ष विनिता ढकालले बताउनुभयो । 

पालिका क्षेत्रभित्र सुत्केरी स्याहार कार्यक्रम, अपाङ्ग सम्मान कार्यक्रम लगायत समुदाय लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको समेत उल्लेख गर्नुभयो ।  शिविरमा दाँत लगाउन आउनु भएका अरुण गाउँपालिका ५ याकुका विष्णु कुमार ओझाका अनुसार उहाँको बिस २०५५ सालमा सबै दाँत झरेका थिए । 

आर्थिक अवस्था कमजोर हुनुका साथै दाँत लगाउन समय अनुकूल नहुँदा आफूले अहिलेसम्म दाँत नलगाएको र अहिले पालिकाले निःशुल्क दाँत लगाइदिँदा आफू खुसी भएको उहाले बताउनुभयो । स्थानीय नेत्र बहादुर खड्काले खुसी व्यक्त गर्दै भन्नुभयो,‘ दाँत नहुँदा इच्छाएको तातो, चिसो खान हुँदैन थियो । दाँत लगाएसँगै यी सबै खानेकुरा खान पाइने भइयो भनी खुसी छु, गाउँपालिका परिवार र अध्यक्ष प्रति हार्दिक धन्यवाद ।’ 

पालिकाले लगाइदिएको दाँत कमजोर हुन्छ भन्ने हल्ला सुनेको थिए, यस्तो भयो भने पालिकाकै बेइज्जत हुन्छ यस्तो नहोस् अर्का स्थानीय टिकाराज ओझाले बताउनुभयो ।  निःशुल्क दन्त उपहार कार्यक्रम अन्तरगत गत फाल्गुणमा दाँतको नापजाचँ गरिएका ८४ जना ज्येष्ठ नागरिकहरूलाई चैत्र १४ र १५ गते पालिकाको केन्द्र प्याउलीमा दाँत लगाइएको हो ।