कोरोना भाईरसको करणले आज विश्व स्तब्ध छ। अमेरिका, चीन, भारत लगायतका मुलुकहरु यो बिषम परिस्थितीसँग लड्नका लागि हरतरहले कोशिस गरिरहेका छन् । दैनिक जसो संक्रमितको संख्या बढिरहेको छ । मृतकको संख्या भयाबह रुपमा बढिरहेको छ । धेरैजसो मूलुकमा लकडाउनको अवस्था छ । स्कूल, कलेज,उद्योग कलकारखाना, सपिङ मल, बजार, यातायात बन्द छ । मानिसको आवतजावत बन्द छ। बजार गल्ली सुनसान छ । मानिसमा डर त्रास व्याप्त छ । घरका मूलढोकामा ताला लगाएको छ ।  कोही हिँड्छन्की भनेर झ्यालबाट चिहाएर हेर्नुपर्छ । घरका ढोकाका ह्यान्डल, कुर्सी, टेबल, झ्यालका पल्ला, ढोका, आफूले प्रयोग गरेका गाडी मोटरसाइकलले आफैलाई कोरोना सार्छ भनेर त्रसित पारेको छ । घरमा आफ्नै बाबु,आमा दाजु, भाई, दिदी, बहिनी, सासु, ससुराको आगमन पनि त्रासलाग्दो भएको छ । हाल घरमा जो जत्ती छौं, अरुको उपस्थितिको कामना गर्न कठिन छ ।

के बालक,के युवा, के तन्नेरी, के बृद्ध सबैमा बाँच्न पाइन्छ की पाइँदैन भन्ने मात्र छ । लकडाउन भन्दा पहिले जोहो गरिएको दाल, चामल, नुन, तेल, सब्जी रित्तिँदै छ । यो अवस्था कहिलेसम्म भन्ने नी टुङ्गो छैन । ग्याँस सकियो, चियारंग सकियो, चिनी सकियो, ग्रीन टी सकियो । साना बालबच्चाको लागि ल्याएको बिस्कुट सकियो, चिउरा सकियो, भुजा सकियो, सुजी सकियो । खासगरी यस्तो अवस्थामा युवा, तन्नेरी, बृद्वबृद्धासमेतले परिस्थितिको गाम्भिर्यता लागि महसुस गर्नसक्नु स्वभाविक भएतापनि बालबच्चाका लागि भने बुझाउन निकै कठिन भएको महसुस हुन्छ ।

तपाईहरु धेरैलाई यो लकडाउनले बेचैनी ल्याएको हुनसक्छ । हिजोका दिनमा आफ्नो दैनिक कामले बिहान देखि बेलुकासम्म व्यस्त हुँदाको अवस्था, साथीहरुसँग रमाइलो, खानपान, घुमफिर, अनि बेलुका भएपछि यसो ओल्टोकोल्टो लागेर चिरिप्प लाउने अनि रात परेपछि मात्र घर आउनेहरुको लागि यो एउटा समस्या बनेको छ । समय कसरी कटाउने, दिन कसरी बिताउने, बालबच्चाको डिमाण्ड, बाहिर निस्कियो पुलिसको डण्डा । हो साँच्ची नै बिरक्त लाग्दो भएको होला । चिन्ता नगर्नुहोस् यो लकडाउनलाई आनन्दमय, रमाइलो र स्मरणीय बनाउन सकिन्छ । यसलाई फलदायी उपयोगी बनाउन सकिन्छ यदि यसलाई सही ढंगले सदुपयोग गर्न सकिएको खण्डमा । आउनुहोस् यो बिषयमा चर्चा गरौँ ।

यो समयले तपाईंहरुमा नकारात्मकता उत्पन्न गराएको हुनसक्छ । नकारात्मकता आफैमा एउटा रोग हो । यसले तपाईंको जीवनमा सफलता, नैराश्यता, हीनता बोध र विभिन्न मानसिक र शारीरिक समस्या समेत निम्त्याउन सक्छ । एकोहोरोपन, काम गर्न मन नलाग्ने र आलस्यता जन्माउछ । मनमा अनावश्यक कुराहरु खेल्ने हुँदा तनाव  (depression) समेत हुनसक्छ । त्यसैले यो लकडाउनको समयलाई नकारात्मक रूपबाट नभएर सकारात्मक तरिकाबाट बिताँउ । यो समयलाई सकारात्मक, उत्पादनमूलक, अविस्मरणीय बनाउनका लागि गर्न सकिने केहि साना साना कार्यहरु निम्न छन् ।

१) करेसा बारीमा काम गर्नुहोस्

दिनभर खाली समय सुतेर र अनावश्यक कुराहरू मनमा खेलाएर अरूको कुरा काटेर बिताउनु भन्दा तपाईंको आफ्नो करेसा बारी छ भने बिहान बेलुका समय मिलाएर एकाध घण्टा करेसाबारीमा काम गर्नुभयो भने तपाईंको शरीर फुर्तिलो हुनुको साथै अल्छिपना हटेर जान्छ । आफ्नो बारीको अर्गानिक सागसब्जी खान पाउनु हुन्छ । पैसाको बचत हुन्छ । समय सजिलै कट्छ । अनावश्यक कुराहरु मनमा खेल्न पाउँदैनन् । प्रकृतिसँग तपाईंको सात्क्षातकार हुन्छ । थोरै समय भएपनि तपाईंको खुट्टाले माटो छुन पाउँछ । शरिरबाट पसिना बग्छ । सुगरको बिरामी हुनुहुन्छ भने मर्निङ वाकको बिकल्प हुन सक्छ।

२) भान्सामा काम गर्नुहोस्

तपाईंले आजसम्म अरुले पकाएको खाना मात्र खाएको होला । हिजोसम्म तपाईं सँग समय थिएन । आफुलाई मन परेको खाना भान्सामा बन्दैन थियो होला । अव समय नै समय छ । आजकल बिभिन्न युटुब च्यानलमा खानाका बिभिन्न परिकारहरु कसरी बनाउने भन्ने रेसिपीहरु पाइन्छ । युटुबबाट हेर्दै तपाईंलाई मन परेको खाना बनाउन सक्नुहुन्छ । आफुले पकाएको खाना परिवारका सदस्यहरुसँगै बसेर खानुहोस् । पारिवारिक आत्मियता बढ्छ । सबै सदस्यले पालैपालो यस्तो गर्दा बिभिन्न स्वादका खाना खान पाइन्छ । तपाईंको खाना बनाउने सिपको बिकास हुन्छ । यो सीप तपाईं आफ्नो जीवनको पछिल्लो समयसम्म प्रगोग गर्न सक्नुहुन्छ । तपाईंलाई समय काटेको थाहै हुँदैन । आफुले बनाएको ताजा खानाले तपाईंको स्वास्थ्यमा खराबी हुन दिँदैन । यदि तपाईं खाना बनाउन कुशल हुनुहुन्छ भने यो सीप परिवारका अन्य सदस्यलाई समेत सिकाउन सक्नुहुन्छ । ख्याल गर्नुहोस् यो बेलामा तपाईंले बनाएका परिकारहरु सामाजिक सञ्जालमा पोष्ट नगर्नुहोस् ।

३) बच्चासँग रमाइलो गर्नुहोस्

कामको ब्यस्तताले तपाईंले आफ्ना परिवार बालबच्चालाई समय दिन पाउनुभएको थिएन भने यो समयलाई भरपूर सदुपयोग गर्नुहोस् । आफ्ना बालबच्चालाई माया गर्नुहोस् । उनीहरूसँगै खेल्नुहोस् । रमाइलो गर्नुहोस् । कथा सुनाउनुहोस् । गीत गाउनुहोस् । लुडो, क्यारेमबोर्ड, चेस खेल्नुहोस् । यसले पारिवारिक आत्मियता बढ्नुको साथै नानीहरुलाई सुरक्षाको अनुभूति बढेर जान्छ । उनीहरूले तपाईंसँग मनका कुराहरू ढुक्कसँग राख्न सक्ने वातावरण बन्छ ।

४) परिवारसँग समय खर्चनुहोस्

परिवारमा रहेर पनि हामी एक्लो भएका छौँ । काम,पैसा, जिम्मेवारी, पेशा, व्यवसाय, मान, प्रतिष्ठा र सबैभन्दा माथि पुग्ने परिस्पर्धाले हामिलाई एक्लो बनाएको छ । परिवारमा कुन सदस्यको कस्ता समस्याहरु छन् । कसरी समय कट्दैछन् । उनीहरूका आवश्यकताहरू कस्ता छन् । कसरी पूरा हुँदैछन् । कुनै सदस्य गलत बाटोतिर त जाँदैछैनन् ? हामीले यतातिर कहिल्यै ध्यान दिन सकेनौँ । यो समयलाई हाम्रो त्यो गलत रवैयाले सुधार गर्न तिर लगाऔं । हरेक दिन एउटा निश्चित समय परिवारका सबै सदस्य एकै ठाउँमा बसेर मोबाइल बन्द गरेर पालैसँग आ–आफ्ना कुरा राखौँ । हरेक दिन हरेक पारिवारिक बिषयमा छलफल गरौं ।

५) पुस्तक पढ्नुहोस्

आजकल बजारमा बिभिन्न प्रसिद्ध लेखकका उपयोगी पुस्तकहरु उपलब्ध छन् । राजनीतिसँग सम्बन्धित, साहित्यसँग सम्बन्धित, धार्मिक पुस्तकहरु, खेलसँग सम्बन्धित, अर्थसँग सम्बन्धित, बिज्ञान मनोविज्ञानमा, यात्रा संस्मरण इत्यादि । तपाईं आफुलाई मनपर्ने तपाईंको बिचारसँग मेल खाने कुनैपनि पुस्तक पढेर आफ्नो ज्ञान क्षमतामा वृद्धि गर्न सक्नुहुन्छ । अहिलेको बिज्ञान र प्रविधिको युगमा पुस्तक खरिद गर्न बजार गईरहनुपनि पर्दैन । घरमै ईन्टरनेटबाट डाउनलोड गरी पढ्न सक्नुहुन्छ । तपाईंले पुस्तक पढ्न थालेपछि पढ्न मन नगर्ने तपाईंका छोराछोरीमा समेत पढ्ने बानीको विकास हुन्छ । तपाईंको ज्ञान बढ्छ । क्षमता बढ्छ । तर्क शक्ति बढ्छ । बौद्धिकता बढ्छ । समय सजिलै ब्यतित हुन्छ ।

६) संस्मरण लेख्नुहोस्

कुनै बिषयबस्तु, वातावरण, परिस्थिति, समय, स्थान र व्यक्तिसँग भए गरेका अन्तरकृया, अवलोकन र भोगाइको बिषयमा लेखिएका कथा, लेख रचनाहरु पाठकको लागि बडो रमाइलो र संजीव हुने गर्दछन् । तपाईंले लेखेका लेखहरू आफ्नै लागि पनि पछिल्ला दिनमा संस्मरणका लागि उपयोगी बन्नसक्छ । यो लकडाउनको समयमा तपाईंले भोगेका अनुभव गरेका मनमा खेलेका भावनालाई समेटेर राम्रो संस्मरण तयार पार्नुहोस् । सक्नुहुन्छ भने कुनै पत्रिकामा छाप्न दिनुहोस् । तपाईंको रचनात्मकता बढ्नुको साथै तपाईंको लागि यो एउटा बौद्धिक सम्पत्ति बन्ने छ । संस्मरण लेख्ने क्रममा तपाईंको कल्पना शक्तिमा बिकास भएर भबिस्यमा एउटा लेखकको रुपमा आफुलाई पाउन सक्नुहुन्छ ।

७) समाचार सुन्नु/ हेर्नुहोस्

तपाईंसँग प्रशस्तै समय छ । हरेक समयको अन्तरालमा रेडियो टेलिभिजनबाट समाचार प्रसारण भइरहेको हुन्छ । आफुलाई अपडेट गर्नुहोस । समाचार सुन्नुहोस् । समाचार पढनुहोस्/हेर्नुहोस् । बिश्वका बिभिन्न मुलुकको पछिल्लो अपडेट के छ जानकारी राख्नुहोस् । यसले तपाईंको बौद्धिकता बढाउने मात्रै नभएर साथीहरुसँग गफ गर्नलाई आधार बन्छ । तर्क र छलफलमा डाटा प्रस्तुत गर्न, उदाहरण दिन, अरुको मुख बन्द गर्न सक्नुहुन्छ ।

८) धार्मिक कार्यक्रम हेर्नुहोस्

रेडियो टेलिभिजनले नियमित रुपमा निश्चित समयमा सम्भवत M बिहानीको समयमा धार्मिक कार्यक्रम सञ्चालन गर्ने गर्दछन् । कुनै कुनै त धार्मिक च्यानल नै छन् । जसले लगातार भजन, कृतन, प्रवचन , धार्मिक टेलिफिल्म, छलफल, प्रश्नोत्तर जस्ता कार्यक्रममै समय बिनियोजन गरेका हुन्छन । समय मिलाएर उपयुक्त कार्यक्रमहरु हेर्ने गर्नुहोस् । तपाईंले शान्ति आनन्द र तनाव रहित जीवनको अनुभूति गर्नुहुनेछ । धर्मकर्ममा मन जानेछ । सेवाभावको बिकास हुनेछ । मानव भलाई तिर मन जानेछ । तपाईंमा नैतिकता र अनुशासनको बोध हुने छ । यो लौकिक संसारको माया मोह काम क्रोध जस्ता बन्धनबाट मुक्तिको मार्गचित्र प्राप्त हुने छ ।

९) सामाजिक सञ्जालमा रमाउनुहोस्

यो समय सामाजिक सञ्जालमा हराउने, रमाउने र बिश्वका बिभिन्न मुलुकमा रहेका व्यक्तिहरुसँग सम्बन्ध राख्नको लागि उपयुक्त समय हो । आज तपाईंको हातमा रहेको मोबाइलबाट नै तपाईंका आफ्ना बिचार, भावनाहरु एकअर्कामा साटासाट गर्न सक्नुहुन्छ । अरुका बिचार भावनालाई लाईक गर्ने कमेन्ट गर्न टिप्पणी लेख्ने जस्ता कार्य गर्न तपाईंलाई पूरापूर समय छ । याद गर्नुहोस् वाक स्वतन्त्रताका नाममा अनावश्यक बिषयबस्तु कहिल्यै पोष्ट नगर्नुहोस । साइबर क्राईमको बिषयबस्तु बन्नसक्छ ।

१०) कोरोनाको बारेमा अपडेट हुनुहोस्

चाइनाबाट शुरु भएको र महामारीको रुपमा देखापरेको कोरोना भाईरसबाट आज बिश्वमै स्तब्ध बनेको छ । हरेक मुलुकमा हरेक दिन नयाँ संक्रमितको संख्या बढिरहेको छ । मृतकको संख्यामा समेत बृद्धि भइरहेको छ । त्यसो त निको हुनको संख्या पनि कम छैन । हरेक मुलुकले आफ्नो क्षमता अनुसारका तयारीहरु समेत गरिरहेका छन् । बिश्वका अग्रणी मुलुकमा रहेका बैज्ञानिकहरुले कोरोना भाईरसको उपचारको खोजीमा दिनरात मेहेनत गरिरहेका छन् । तपाईं यस बिषयमा पनि अपडेट हुनुहोस् ।

११) अनलाइन कन्फ्रेन्समा सहभागी हुनुहोस्

यो कोरोना भाईरसको संक्रमणको समयमा बिभिन्न क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रिय कन्फरेन्सहरु अनलाइनको माध्यमबाट नियमित रुपमा भईरहेका छन् । शिक्षासँग सम्बन्धित, स्वास्थ्यसँग सम्बन्धित, परामर्शसँग सम्बन्धित, मनोविज्ञानसँग सम्बन्धित इत्यादि । तपाईं आफुलाई अनुकूल हुने कुनैपनि कार्यक्रममा सहभागी भई आफ्नो बौद्धिकता प्रस्तुत गर्न, सिक्न र प्रमाणपत्र प्राप्त गरी आफ्नो प्रोफाइल बढाउन सक्नुहुन्छ ।

१२) कोरोना भाईरस १९को सचेतनामा सहभागी हुनुहोस्

तपाईं एउटा जिम्मेवार नागरीक पनि हुनुहुन्छ । तपाईंको दाईत्व तपाईंको परिवारमा मात्र सिमित छैन । तपाईबाट समुदाय, समाज राष्ट्र र बिश्वले समेत केही अपेक्षा गरेका छन् । तपाईं बिश्व समुदायको एउटा हिस्सा हो । तपाईंले आफूलाई कम सोचेको हुनसक्छ तर बास्तविकता भने फरक छ । आज बिश्वका तपाईंका सहकर्मीहरू कोही मृत्युसँग जुधिरहेका छन् भने कोही उनीहरुलाई मृत्युको मुखबाट बचाउन जिउ ज्यान लगाएर खटिरहेका छन् । तपाईंलाई लाग्ला म के गर्न सक्छु । म न डाक्टर, न नर्स, न पुलिस, न आर्मी, न जनप्रतिनिधि, न सामाजिक अभियन्ता, न ज्योतिष, तपाईंको सोचाइ पनि ठिकै हो तर तपाईंले गर्नसक्ने धेरै छ । तपाईं जनचेतना जगाउने खालका लेख, रचना, कविता, मुक्तक, गीत, गजल पोष्ट गर्न सक्नुहुन्छ । भ्वाइस मेल पठाउन सक्नुहुन्छ । मेसेज पठाउन सक्नुहुन्छ । कोरोनाबाट बच्नको लागि गर्नुपर्ने तयारीका बारेमा छापिएका तस्बिर पोष्टर नाराहरु फेसबुकमा पोष्ट गर्न सक्नुहुन्छ । लकडाउनको समयमा बाहिर निस्केका केटाकेटी र अन्य व्यक्तिहरुलाई सम्झाउन सक्नुहुन्छ । यो एउटा असल नागरीकको कर्तव्य पनि हो, गरेर हेर्नुहोस् कति आनन्द छ ।

१३) पुराना साथिहरु सँग सम्पर्कमा रहनुहोस्

ओल्ड इज गोल्ड । हामीले बारम्बार सुनेको, देखेको, लेखेको र भनेको पनि । तर यसको अर्थ हामी कतिलाई थाहा छ । पुरानो भनेको पुरानो नै हो । हाम्रा ती पुराना दिन, पुराना साथीहरु, बिताएका पुराना क्षण, पुराना जीवन शैली हामी सबैले सायद बिर्सेको होला । हाम्रो समयको ब्यस्ताताले गर्दा हाम्रो ति पुराना साथीहरु को को कताकता छन्, कस्ता कस्ता छन्, के के गर्दैछन्, कसको पेशा व्यवसाय के के छ ? हामी कतिलाई थाहा छ ?कति त बितिपनि सके होलान् । यो समयलाई साथीभाइको खोजिको लागी खर्च गर्नुहोस् ।

१४)  चलचित्र हेर्नुहोस्

मनोरञ्जन कसलाई मन पर्दैन र ? समय नपाए र पो त । अव तपाईंसँग समय नै समय छ । घरमा टेलिभिजन होला । केवल जोडेको होला । ईन्टरनेट होला । बिश्वका बिभिन्न च्यानलबाट थरिथरिका चलचित्रहरु अनवरत आइरहेका छन् । कति चदचित्रहरु युटुबमा पनि होलान् । सपरिवार बसेर ज्ञानवर्धक चेतनामूलक मनोरञ्जनात्मक चलचित्रहरुको भरपूर आनन्द लिनुहोस् ।

१५) अनलाइन गेम खेल्नुहोस्

यो युग बिज्ञान र प्रविधिको युग हो । खेल्नको लागि बाहिर चौरमा जानुपर्दैन । अहिले सयौ गेमहरु बसी बसी एकअर्कासँग भिडियो कल गर्दै खेल्न सकिन्छ । तपाईपनि त्यस्ता गेमहरुबाट आनन्द लिनुहोस ।

१६) कोठा सजाउनुहोस्

हो साँच्चै तपाईंको व्यस्तताको शिकार तपाईंको कोठाले हुनुपरेको छ । लथालिङ्ग, कोठा मिलाउने फुर्सद तपाईंलाई कहाँ र ? तपाईंलाई त काम, पेशा, रुपैँया, पैसा, ब्यवसायले कैले फुर्सद दिने र ? आउनुहोस् अव यो समय आफ्नो घर कोठा सजाउन खर्च गर्नुहोस् ।

१७) फूलबारीमा काम गर्नुहोस

घरमा गमलामा केही फूलका बिरुवाहरु सबैले रोपेका हुन्छन् । तपाईंका घरमा पनि सायद छन् होला । तपाईंलाई थाहा छ त्यसमा पानी कसले हाल्छ, गोडमेल कसले गर्छ, मल कसले हाल्छ । तपाईंलाई त शायद यो पनि थाहा छैन कि तपाईंको घरमा कुनकुन जातका फूलहरू रोपिएका छन् । खैर छोडिदिनुहोस् यस्ताकुरा अव तपाईंको केही समय यी बिरुवा गोडमेल गर्न, मल हाल्न र पानी हाल्न खर्च गर्नुहोस् ।

१८) नानीबाबुहरुलाई पढाउने गर्नुहोस्

यदि तपाईंलाई बिषयगत ज्ञान छ भने यो समयलाई नानीहरुको पठन पाठनमा लगाउनुहोस् । नानीबाबुहरुको क्षमतामा बृद्धि हुन्छ । उनीहरुले नबुझेका कुराहरु सिक्न पाउँछन् ।

१९) आफन्तसँग सम्पर्कमा रहनुहोस्

तपाईंका दाजुभाई, दिदी बहिनी, काकाकाकी, मामामाईजू लगायातका आफन्तहरुको सन्चो बिसन्चोको बारेमा सोधिखोजी गर्नुहोस् । नियमित सम्पर्कमा रहनुहोस् ।

यसरी माथि उल्लेख गरिएका कार्यहरुमा आफूलाई ब्यस्त राख्ने हो भने निश्चित रूपमा यो समय बोझिलो र नकारात्मक नहुनुको साथै समय कटेको पनि पत्तै हुँदैन । एकपटक यसलाई अनुशरण गरेर हेर्नुहोला ।

(लेखक डा.बेनुप्रसाद सिटौला Educationalist and psychotherapist तथा इटहरीस्थित डिभिएम स्कुलका प्रिन्सिपल हुनुहुन्छ - सम्पादक)