इटहरी । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) श्यामलाल ज्ञवालीले पूर्वका खुल्ला सीमा क्षेत्रबाट हुने चोरी पैठारी र निकासी नियन्त्रणमा खरो भएर उत्रिने बताएका छन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएर बुधवार आएका डीआइजी ज्ञवालीले  पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले १ नम्बर प्रदेशमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउनुका साथै अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान, पेन्डिङ मुद्दाको फर्छौट, फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनु साथै लागूऔषध नियन्त्रणको लागि विशेष अभियान सञ्चालन गरिने बताए ।

कार्यक्रममा सञ्चारकर्मीहरूबाट उठेका विविध जिज्ञासाहरूको बारेमा समेत उनले प्रस्ट पारेका थिए ।