इटहरी/ आयोजक राष्ट्रिय जागृति क्लव इटहरीलाई पराजित गर्दै चर्च ब्वाईज युनियन काठमाण्डौ इटहरी गोल्डकपको फाईनल प्रवेश गरेको छ। आयोजकलाई १–०ले पराजित गर्दै चर्च ब्वाईज फाईनल प्रवेश गरेको हो।

उपाधि रक्षाका लागि चर्च ब्वाईजले डिफेन्डिङ्ग च्याम्पियन सगरमाथा युथ क्लव मोरङ्गलाई पहिलो सेमिफाईनलमा हराउँदै फाईनल प्रवेश गरेको त्रिभुवन आर्मी क्लव काठमाण्डौसँग  शनिबार खेल्ने छ। 

इटहरी रंगशालामा बिहिबार राती सम्पन्न दोश्रो सेमिफाईनल खेलमा आयोजक राजा क्लवलाई १–०ले स्तब्ध पार्दै चर्च ब्वाईज युनियन इटहरी गोल्डकपको फाईनलमा प्रवेश गरेको हो।

दोश्रो हाफको ४३औँ मिनेटमा चर्च ब्वाईजका जर्सी नम्बर ७ का खेलाडी समिर तामाङ्गले निर्णायक गोल गर्दै आफ्नो टिमलाई फाइनल यात्रा गराए। निकै प्रतिष्पर्धात्मक रहेको खेलमा आयोजक राजा क्लवले घम्साघम्सीपूर्ण खेल खेलेपनि गोल गर्न सकेन। पटक पटक पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा राजा क्लवले रित्तो हात मैदान छोड्नु पर्‍यो। 

पहिलो हाफको ४०औँ मिनेटमा जर्सी नम्बर ९ का राजेश परियारलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका समिर तामाङ्गले आफ्नो टिमलाई बिनयी गराउँदै आजको खेलको म्यान अफ द म्याच पनि घोषित भए। 

तामाङ्गलाई रेडियो परिवर्तनका बिष्णु रिजाल, उद्योग बाणिज्य संघ इटहरीका उपाध्यक्ष बिष्णु डाँगी र एशियन पेन्ट्सका प्रतिनिधिले नगद, मेडलसहितले पुरस्कृत गरेका थिए।

MAN OF THE MATCHफाईनल खेल शनिबार साँझ साढे ६बजे शुरु हुने र प्रतियोगिताको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउने आयोजकले जनाएको छ।

तस्विर सौजन्य : गुरु ढकाल / इटहरी