झापा/ झापाको मेचीनगर नगरपालिका ६स्थित न्यु बिशाल होटलबाट अफिमसहित दुइजना भारतीय नागरीक पक्राउ परेका छन्। प्रहरीले ति भारतीय महिलालाई बिहान ११ बजे पक्राउ गरेको हो।

प्रहरीले भारतको मनिपुर बस्ने ३० बर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ बर्षीया गायत्री देवी क्षेत्रीलाई नियन्त्रणमा लिएको हो। होटलमा प्रतिबन्धित लागुऔषध अफिमको कारोबार भईरहेको गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण व्युरो कोटेश्वर काठामाण्डौं र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले होटलको कोठा नम्बर १०५बाट उनिहरुलाई नियन्त्रणमा लिएको हो।

प्लाष्टिकको जेब्रा झोला भित्र दुईवटा पोका बनाई लुकाई राखेको प्रतिबन्धित लागुऔषध अफिम २किलोसहित उनिहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय काकरभिट्टा झापाले जनाएको छ।

पक्राउ परेकाहरुको बिषयमा थप अनुसन्धान गरिरहेको झापा प्रहरीले जनाएको छ।