संखुवासभा । संखुवासभा जिल्लाका पुश चौपायमा छालाको रोग (लम्पी स्कीन डिजिज) देखिन थालेपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये सात स्थानीय तहमा पशु चौपायमा छाला समबन्धी रोगको संक्रमण सबैभन्दा बढी देखिएको भेटरिनरी अस्पताल तथा विज्ञ केन्द्र संखुवासभाका प्रमुख हिमालय पोखरेलले बताए ।

छालाको रोगबाट जिल्लाभर ५० भन्दा बढी पशु चौपाय मरिसकेको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र प्रमुख पोखरेलले जानकारी दिए । खाँदबारी नगरपालिका–२ र ६ मा रोगको संक्रमण सबैभन्दा बढी देखिएपछि स्थानीयका घर–घरमै पुगेर पशुहरुको उपचार गरिएको भेटरिनरी अस्पताल प्रमुख पोखरेलले बताए ।

‘अभियानकै रुपमा कृषकहरुको घर–घरमा पुगेर उपचार गरिएको छ, अझै पनि सचेत रहन सबै पशुपालक कृषकहरुलाई अनुरोध गरिरहेका छौं,’ प्रमुख पोखरेलले भने । यसबारे जिल्लाभर नै सचेतना फैलाउन सबै पालिकाहरुलाई पनि खबर गरिएको उनले बताए । उनकाअनुसार, खाँदबारी नगरपालिकाको वडा नं. ७, ८, ९ र १० र पाँचखपन नगरपालिकाको वडा नं. १, ३, ४ र ५ का साथै भोजपुरको षडानन्द नगरपालिकामा समेत फाटफुट देखिएको छ ।

यो रोगबाट पशुहरुको खुट्टा, च्यापु, माला, अण्डकोष, फाँचो सुनिने, शरीरभरि फोका आउने, दाना, घाँसपानी नखाने, नउग्राउने, ज्वरो आउने, दुहुना पशुको दुध सुक्ने, ब्याउँने पशु भए तुहिने, कमजोर हुने लगायतका लक्षणहरु देखिने गरेको छ । खाँदबारी नगरपालिका र पाँचखपन नगरपालिकाबाट सुरु भएको छालाको रोग (लम्पी स्कीन डिजिज) पछिल्लो समय मकालु, सिलिचोङ र भोटखोला गाउँपालिका बाहेक अन्य सबै पालिकाहरुमा फैलिएको भेटेरिनरी अस्पतालका प्रमुख पोखरेलले बताए ।